janayatra

ब्रजिलका पूर्व राष्ट्रपति लुला पुन: शक्तिमा ।

Author जनयात्रा मङ्गलबार, १५ कात्तिक २०७९

views
ब्रजिलका पूर्व राष्ट्रपति लुला  पुन: शक्तिमा ।

ब्रजिलमा पूर्व राष्ट्रपति एवं मजदुर युनियनका पूर्वनेता लुइज इनासियो लुला दा सिल्भाले उग्रदक्षिणपन्थी एवं बहालवाला राष्ट्रपति जइर बोल्सोनारुलाई राष्ट्रपतीय निर्वाचनमा पराजित गरेका छन्। राजनीतिक धारको विपरीत दिशामा रहेका यी दुई प्रतिद्वन्द्वीबीच भएको निकै कडा प्रतिस्पर्धामा ७७ वर्षीय लुलाले ५०.९ प्रतिशत मत पाएका थिए।  बोल्सोनारुले हार स्वीकारिसकेका छैनन्। बोल्सोनारुका समर्थकहरू उनको जित हुनेमा विश्वस्त देखिएको भए तापनि लुलाले पाएको उक्त मत वर्तमान राष्ट्रपतिलाई पराजित गर्न पर्याप्त थियो।  यस निर्वाचनलाई ब्रजिलभित्र मात्र नभएर विदेशमा समेत चासोपूर्वक हेरिएको थियो। खासगरी वातावरण अभियानकर्मीहरूले बोल्सोनारु सरकारको अर्को चार वर्ष हुँदा एमजन जङ्गलको थप विनाश हुने भन्दै चिन्ता व्यक्त गरेका थिए।

विभाजन

यस निर्वाचनले ब्रजिलमा देखाएको विभाजन हटिहाल्ने देखिँदैन।  सन् २०१८ को निर्वाचनका बेला लुला जेलमा थिए र उक्त पदका लागि प्रतिस्पर्धा गर्न प्रतिबन्धित थिए।  त्यस पृष्ठभूमिमा उनले सबैलाई चकित पार्नेगरी नाटकीय रूपमा शक्तिमा फर्किएका हुन्।  अघिल्लो चुनावका बेला लुलाले ब्रजिलको एक निर्माण कम्पनीबाट त्यहाँको सरकारी तेल कम्पनीसँग ठेक्काहरू मिलाइदिने भन्दै घुस लिएको आरोपमा दोषी ठहरिएका थिए।  आफूमाथिको दोष रद्द भएर राजनीतिक जीवनमा फर्कनुअघि उनले ५८० दिन जेलमा बिताएका थिए। उनीहरूले मलाई जिउँदै जलाउन खोजेका थिए तर म यहाँ छु," आफ्नो विजयी मन्तव्य सुरु गर्नुअघि उनले भने।  उनले आफ्नो जितलाई प्रजातन्त्रको विजय भनेर व्याख्या गरेका छन्। 

प्रतिस्पर्धा

मत सर्वेक्षणहरूले सुरुदेखि नै लुलाले जित्ने प्रक्षेपण गरेका थिए।  अभियानकर्मीहरूले बोल्सोनारु सरकारको अर्को चारवर्ष हुँदा एमजन जङ्गलको थप विनाश हुने भन्दै चिन्ता व्यक्त गरेका थिए।

तर पहिलो चरणमा उनको अग्रता सोचिएभन्दा निकै साँघुरो देखिएपछि ब्रजिलमा धेरैले प्रक्षेपणहरूको विश्वसनीयतामा सन्देह व्यक्त गर्न थालेका थिए।  तिक्ततापूर्ण चुनावी अभियानपछि उनले शान्ति र एकताको आह्वान गरेका छन्।  उनले गरिबी अन्त्य र एमजन रेनफरेस्ट संरक्षणको बाचा गरेका छन्।  उनको जितले दशकौँमा ब्रजिलको सबैभन्दा उग्र दक्षिणपन्थी सरकारको अन्त्य गरेको छ। 

को हुन् लुला?

सन् २००३ देखि सन् २०११ बीचमा शक्तिमा रहँदा उनले ब्रजिलको अर्थतन्त्र र कल्याणकारी राज्य विस्तारको कामको नेतृत्व गरे।  जसक्रममा दशौँ लाख मानिसहरू गरिबीको रेखाबाट बाहिर निकालिएका थिए।  पद छाड्दा उनीप्रतिको स्वीकार्यदर ८० प्रतिशत थियो।  तर सन् २०१८ मा एक भ्रष्टाचार काण्डमा उनी दोषी पाइएपछि जेल चलान भएका थिए।  लुलाका समर्थकहरूले त्यससम्बन्धी भएको अनुसन्धान राजनीतिक उद्देश्यले प्रेरित रहेको दाबी गरेका छन्। 

१८ महिनापछि त्यहाँको सर्वोच्च अदालतले उनलाई दोषमुक्त गर्दै रिहा गरेपछि उनी पुनः राष्ट्रपतिको प्रतिस्पर्धामा सहभागी हुन पाएका थिए। 

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC