संघिय चुनावमा महीलाहरुको सहभागिता अत्यन्तै न्युन ।
- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका लागि आइतवार दर्ता भएका उम्मेदवारीमा महिला सहभागिता "निकै न्यून" भए तापनि कानुनी रूपमा बाध्यकारी व्यवस्थाहरूको अभावमा त्यसमा "आफूहरूले केही गर्न नसक्ने" निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन्। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बीबीसीसँग भने, "हामीले यसअघि कैयौँ पटक प्रतिनिधित्वका बारेमा दलहरूलाई स्मरण गराएका थियौँ। तर प्रत्यक्ष निर्वाचन प्रणालीका हकमा हामीले केही गर्न सक्दैनौँ।" उनले समानुपातिक निर्वाचन प्रणालीतर्फ कैयौँ पटक दोहोर्याएर वर्गसमूहको सूची सच्याउन लगाएको, जितिसकेको सीटका हकमा समेत नतिजा प्रकाशन नगर्ने गरिएको बताए। एकजना राजनीतिशास्त्रीले भने संविधानसभा निर्वाचनपछिका चुनावमा लगातार महिला प्रतिनिधित्व विषयमा यसरी ह्रास आउनुले समावेशिताको मर्म नै संस्थागत हुन नसकेको देखिएको टिप्पणी गरेकी छन्। गठबन्धन गरेर चुनाव लड्दा दलहरूलाई महिलासहितका समावेशी प्रतिनिधित्व गराउन सकस परिरहेको नेताहरूले बताउने गरेका छन्। तर प्राध्यापक मीना वैद्य मल्ल भन्छिन्, "गठबन्धन संस्कृति समावेशिताको मर्म विपरीत नै गएको देखिन्छ। त्यसले संविधानले व्यवस्था गरेका मूल्य-मान्यतालाई नै छायामा पारेको छ। प्रतिनिधिसभाको निर्वाचनका लागि मुख्य दलहरूले नै महिला सहभागिताको विषयलाई प्राथमिकता दिएको देखिएन।
संघीय संसदमा प्रत्यक्ष निर्वाचन प्रणालीमा जितेका महिला
· १२.५%पहिलो संविधानसभा निर्वाचन २०६४
· ४.१६%दोस्रो संविधानसभा निर्वाचन २०७०
· ३.६%गणतान्त्रिक नेपालको सङ्घीय संसदको पहिलो आमनिर्वाचन २०७४
स्रोत: Federal Parliament Secretariat of Nepal
सङ्ख्याका हिसाबले राष्ट्रिय दलहरूमध्ये सबैभन्दा धेरै नेकपा (एमाले)ले ११ जना महिला उम्मेदवार उठाएको छ जुन उसले उठाएका १३९ मध्ये झण्डै ८ प्रतिशत हो।
तर पाँचदलीय गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र)ले आफूले उठाएका उम्मेदवारका हिसाबले झण्डै १६ प्रतिशत, नेपाली कांग्रेसले झण्डै ५ प्रतिशत उठाएका छन्।
गठबन्धन गरेर चुनावमा गएकाले दलहरूले कांग्रेस, माओवादीजस्ता दलले कुल उम्मेदवार नै कम उठाएका छन्। जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले महिला उम्मेदवार नै उठाएनन्। तर सबै दलका र स्वतन्त्र उम्मेदवारहरूको सङ्ख्यामा हेर्दा २३३ महिला उम्मेदवार बनेका छन् जुन झण्डै ९ प्रतिशत हुन आउँछ। प्रदेशसभातर्फ समेत ९ प्रतिशतकै हाराहारीमा कुल महिला उम्मेदवार उठेका छन्।