janayatra

उत्तर कोरियाद्वारा मिसाइल प्रहार ।

Author जनयात्रा बुधबार, १९ असोज २०७९

views
उत्तर कोरियाद्वारा  मिसाइल प्रहार ।

 

उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। त्यसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा सतर्कता अपनाउन चेतावनी दिएको छ भने केही रेल सेवाहरू अस्थायी रूपमा बन्द गरिएका छन्। सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि प्रहार गरेको यो पहिलो क्षेप्यास्त्र हो।संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ। उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको देखिन्छ। कृपया भवन वा भूमिगत स्थलमा सुरक्षित रहनुहोला," जापान सरकारले मङ्गलवार जापानको समय अनुसार ७ बजेर २९ मिनेटमा जारी गरेको चेतावनीमा भनेको छ। उक्त देशले यस्तो चेतावनी जारी गर्नु दुर्लभ अवस्था हो। अधिकारीहरूका अनुसार उक्त क्षेप्यास्त्र जापानबाट करिब तीन हजार किलोमिटर पर प्रशान्त महासागरमा खसेको थियो र त्यसबाट कोही घाइते भएको विवरण आएको छैन। जापानका प्रधानमन्त्री फुमियो किशिदाले उक्त प्रक्षेपणलाई "हिंसक व्यवहार" भन्दै कडा निन्दा गरेका छन्।  पछिल्लो परिस्थितिलाई लिएर जापान सरकारले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ। अमेरिकाले उत्तर कोरियाको निर्णयलाई 'दुर्भाग्यपूर्ण' भनेको छ। जापान, अमेरिका र दक्षिण कोरियाले गत साताको सुरुमा त्रिपक्षीय सैन्य अभ्यास गरेपछि उत्तर कोरियाले उक्त प्रहार गरेको हो। त्यो सैन्य अभ्यास उत्तर कोरियालाई उक्साउन गरिएको ठानिएको थियो। 

© 2026 janayatra.com All rights reserved. | Design by OWC